Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘श्राद्धभोज’ खाएर फर्किएका पूर्वराज्यमन्त्रीको हत्यापछि फरार तीन जना हो हुन्?

सोमबार, साउन ७, २०८१

पर्सा– पूर्वभूमीसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यापछि तीन जना फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको छ। 

राय श्राद्धभोज खाएर राति सर्लाहीको चन्द्रनगर–१ स्थित घर फर्किएका थिए। उनीसँग जग्गाको विषयमा कुराकानी गर्न भनी तीन जना आएका थिए भने राती सँगै सुतेको खुलेको छ। 

तर धारिलो हतियारको प्रहारबाट हत्या भएपछि ति तीनजना फरार रहेको अहिले खुलेको हो। 

रायको रगतले लतपतिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मन्त्री रायकै घरमा रहेको हतियारबाट उनको हत्या भएको भेटिएको हो। रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार प्रहरीले घर छेउकै बाँसघारीमा भेटाएको छ।

मन्त्री रायको घरमा काम गर्ने रामउजैन रायका अनुसार तीनजना व्यक्ति राति आएका थिए। रामउजैन भन्छन्,‘त्यसपछि मलाई अर्को कोठामा सुत्न मन्त्रीजीले भन्नुभयो। उनीहरु जग्गाको कुरा गर्न आएका थिए।’

सवा १२ बजे छोराले खबर गरेपछि उनी फर्केका थिए। 

ramchandra-ray-1721634123.jpg
 

‘इन्द्र ठाकुरको आमा बित्नु भएको छ। गाउँमा त्यहाँबाट भोज खाएर भन्नु भयो कि तिमी जाऊ,’ रामउजैनले सुनाए। पूर्वराज्यमन्त्री रायले पनि त्यहिँ भोज खाएका थिए। 

मृतक राय तीन दाजुमध्ये माइला हुन् भने उनकी श्रीमती, २ छोरा र ५ छोरी छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रदेश प्रहरी कार्यालय मधेसबाट छुट्टा–छुट्टै टोली हत्याको अनुसन्धानका लागि खटिएको छ। प्रहरी उच्च स्रोतले भन्यो,‘अहिले प्रारम्भिक अनुसन्धान छ। हालसम्म सँगै सुतेका भनिएका तीन जना नै हत्या अभियुक्तका रुपमा मानिए पनि यसको गहिरो अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने तयारी छ।’

ति तीन जनाको परिचय अहिलेसम्म प्रहरीले खुलाउन सकेको छैन। पूर्वमन्त्री रायको घरमा काम गर्नेले पनि उनीहरूको परिचय थाहा नपाएको जनाएका छन्।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्