Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रचण्ड’ले भने- भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो

सोमबार, साउन ७, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ ।आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता-कार्यकर्ताहरुसँगको भेटमा ‘प्रचण्ड’ले सो धारणा राखेका हुन् ।

‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । त्यसैले सरकार गिराइयो,’ ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै वाईसीएलका एक नेताले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा लागिरहन्छौँ ।’

आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको दाबी गर्दै ‘प्रचण्ड’ले त्यसको मूल्यांकन जनताले गरेको बताए । सरकार बाहिरै रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गरिरहने पनि उनले बताए ।

अध्यक्ष ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउन जरुरी रहेको भन्दै त्यसमा भूमिका खेल्न युवाहरूलाई आह्वान गरे ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्