Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि संसदमै सवाल-जवाफ

सोमबार, साउन ७, २०८१

काठमाडौँ - संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवाल-जवाफ भएको हो । 

सबैभन्दा पहिले काँग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभुज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रङ्क लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रुपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानमन्त्रीले बिचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए ।

 

 

सवाल-जवाफका लागि आएका प्रधानमन्त्री ओलीले सुरूमा पुष्पलाललाई सम्झिए । त्यसपछि उनले आफ्नो गुनासो राख्न थाले ।

‘हामी यस गरिमामय सदनमा हामीले बोल्दा भएका कुरा बोल्ने गरौँ, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौँ । पार्टी फरक होला, तर त्यसो भनेर जथाभाबी बोल्ने नगरौँ झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने ।

उनले थपे, ‘मैले हिजो बोल्दा विद्युत् महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुङ्ग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । ‘बेठिकखालका सेटिङ र विभिन्न खालका तन्त्रको पछाडि मलाई कुद्नु छैन । देश र जनताको हितको पक्षमा ६० वर्ष समर्पण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु । कसरी मैले तिर्नु पर्दैन भने ? यहाँ उपस्थित हुनुहुन्नथ्यो भने रेकर्ड सुनेर आउनुस् । हामी गरिमामय संसदमा छौँ । जनताले छानेका प्रतिनिधिले झूटो नबोलौँ । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक खालका फोटोहरू छपाएको छ । हामीले सत्य कुराहरू गर्न सिक्नुपर्छ । भ्रष्टाचारका विरुद्ध बोलौँ, भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप नलगाऔँ । म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझ्या हुन सक्छ । कसैलाई मर्का पर्‍या हुन सक्छ । यो दलीय व्यवस्था हो । प्रश्नहरू राजनीतिक हिसाबले नै अगाडि बढाऊँ ।’

प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवाल जवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे ।

त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौँ भन्ने हो ।’

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्