Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यूरोडको सडकपेटी बिस्तार रोकिन्न, यस्तो छ महानगरले तयार पारेको क्षेत्र

सोमबार, साउन ७, २०८१

काठमाडौं- न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ ।

मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ ।

यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढ्ने छौं ।’

उनका अनुसार अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नेछन् । वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन् । वडा नम्बर २२ ले २ जना र २३/२४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन् ।

निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्य सदस्य सचिव रहने यो समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले प्रतिवेदन तयार पारेपछि स्थानीयबासीसँग छलफल गर्ने वडाध्यक्ष महर्जनले बताए । यो सहमतिसँगै वडा नम्बर २२ को आन्दोलन रोकिएको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । 


 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्