Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले हेप्न थाल्यो : सुदन किराँती

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सरकारले प्रतिपक्षमा साना दलहरू छन् भनेर हेप्न थालेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले ठूलो स्वर गर्न थालेको बताए ।

‘यो देश तीन करोड नेपालीको हो, यो देश हाम्रो पनि हो । प्रतिपक्षहरू सानो छ भनेर अलिकति ठूलो स्वरले हेप्न थालिएको छ । तर, लोकतन्त्रमा आकारले होइन सभामुख महोदय, मुद्दाले स्थान लिन्छ’, उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टि-इस्टेट लगायतका विषयमा अनुसन्धान अगाडि बढाउन खोज्दा सरकार फेरिएको उनको टिप्पणी छ । मौद्रिक नीति रोकिएको विषयले सरकारले सही गति लिन नसकेको पुष्टि हुने सांसद किरातीले बताए ।

२०४६ सालपछि काँग्रेस र एमालेले संसदीय राजनीतिलाई विकृत गराएका कारण माओवादी सहितका नयाँ दलहरू जन्मन पुगेको उनले बताए । पालैपालो संसद् विघटन गरेर राजनीतिलाई अस्थिर बनाउने काम काँग्रेस र एमालेले नै बनाएको किराँतीको भनाइ छ । संसद् अवरोधमा रेकर्डमाथि रेकर्ड राख्ने काम भएको सम्झिए ।

ओम्नी, यति, प्रिन्टिङ प्रेस लगायतका विषय पश्न उठेको तर, छानबिन नभएको बताए । अघिल्लो सरकारले अगाडि बढाएका भ्रष्टाचारसँग सम्बन्धित विषयहरू पुनः छानबिन र अनुसन्धानमा अगाडि बढ्छ कि बढ्दैन भन्ने प्रश्न आम मानिसमा रहेको पनि उनले बताए ।

सांसद किरातीले विगतमा वामपन्थी अगुवाहरुहरुले गाउँमा सुनाउने गरेको गीत स्मरण गरे । ‘वामपन्थी अगुवाहरुहरुले गाउँमा आएर गीत गनुहुन्थ्यो-देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको हेर गाउँले हो’, उनले भने ।

यो गीत सम्झिँदै उनले दुई ठूला दल काँग्रेस र एमालेबीच भएको सत्ता सहयात्राबारे प्रश्न गरे । ‘असार १५ गते मध्य वर्षामा बाहिर प्रकृतिमा मनसुन सक्रिय थियो । भित्रभित्र ठूलो दलहरू सत्ता परिवर्तनको निम्ति त्यो भन्दा पनि बढी सक्रिय भइरहेको रहेछ’, किरातीले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्