Nic Ad Nic Ad
Nic Ad Nic Ad

लालीगुराँस सहकारी ठगीमा नौविरुद्ध मुद्दा दायर

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी सहित नौ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको  कार्यालय  ललितपुरले नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत रहेका भण्डारी सहित नौविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव तथा सीईओ सुरेन्द्र भण्डारी,  कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) र भोलाकुमार श्रेष्ठलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो ।

त्यसैगरी सहकारीका लेखा समिति संयोजक पुण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जितलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको हो ।

प्रतिवादीमध्ये  प्रहरीले सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) लाई पक्राउ गरी बयान समेत लिएको छ । अन्य प्रतिवादी फरार छन् ।

विभिन्न तथ्य र प्रमाण तथा प्रहरी प्रतिवेदन समेतका आधारमा ‘श्री लालीगुराँसको भविष्य उज्ज्वल छ, आर्थिक अवस्था असाध्यै सबल छ भनी संस्थाकै गतिविधि झल्काउने गरी प्रतिवेदन सहित हाम्रो संस्थामा लगानी गर्नुहोस्’ भनी आकर्षक ब्याजको प्रलोभन देखाउने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादीहरूले बचतकर्तालाई खाता खोल्न लगाइ बचत गरेको रकम फिर्ता माग गर्दा विभिन्न बहाना बनाइ फिर्ता नदिएको र जाहेरीकर्ता महेश थापाको २ करोड १४ लाख २४ हजार ४ सय ५१ रुपैयाँ ठगी गरेको देखिएको उल्लेख छ ।

जाहेरीकर्ताको करिब २ करोडभन्दा बढी ठगी गरेकाले  कानुनी कारबाही र ठगी गरेको रकम फिर्ता गराइपाउँ भन्ने जाहेरीको आधार अनुसन्धान भए पनि २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडभन्दा धेरै बचत फिर्ता नगरेको देखिएको प्रतिवेदनमा छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्