Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

मंगलबार, साउन ८, २०८१

काठमाडौं- भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो ।

१ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् ।

दोस्रो ओभरमा नै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । उनी ७ रन बनाएर अरुणधती रेड्डीको बलमा बोल्ड भएकी थिइन् । कविता कुँवर पनि ६ रन मात्र बनाएर पाँचौं ओभरमा रेणुका सिंहको शिकार बनिन् ।

कप्तान इन्दु वर्माले मध्यम सुरुवात पाएको थिइन् । तर १०औं ओभरमा उनलाई राधा यादवले शफाली वर्माको हातबाट क्याच आउट गराइन् । इन्दुले १८ बल खेल्दै १४ रन जोडेकी हुन् ।

ओपनर सिता राना मगरलाई अरुणधतीले ११औं ओभरमा बोल्ड गरिन् । सिताले आउट हुनुअघि २२ बलमा ३ चौका सहित १८ रन जोडिन् ।

१४औं ओभरमा दीप्ति शर्माले दुई विकेट लिन सफल भइन् । ऊ लिए रुबिना क्षेत्री र कविता जोशीलाई आउट गरेकी थिईन् । रुबिनाले १६ बलमा १५ रन बनाइन् । कविता भने शून्यमै आउट भइन् ।

पूजा महतो पनि २ रन मात्र जोड्न सफल रहिन् । १२ बल खेल्दै उनी १५औं ओभरको अन्तिम बलमा रनआउट भएकी थिइन् । डली भट्ट राधा यादवद्वारा पेभेलियन फर्काइनु अघि ५ रन बनाइन् ।

काजल श्रेष्ठलाई दीप्तिले अन्तिम ओभरमा ३ रन बनाएको अवस्थामा कट एण्ड बोल्ड आउट गरिन् । बिन्दु रावल १७ र सबनम राई १ रनमा अविजित रहे ।

भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २-२ तथा रेणुका सिंहले १ विकेट लिइन् ।

त्यसअघि दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो ।

भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् ।

यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् ।

नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

आजको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सो जित नेपालको एशिया कप इतिहासमा एकमात्र जित रहेको छ ।

नेपालको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ००:०१
प्रतिक्रिया दिनुहोस्