Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

बुधबार, साउन ९, २०८१

बुटवल - नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए ।

आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको अनलाइनखबरलाई बताए । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले जानकारी दिए । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए । ‘उहाँ त धेरै सहनशील नेता हो, तर यसपटक छापारमार शैलीमा घात नै भएपछि सहन सक्ने कुरा भएन, धेरै नेता कार्यकर्ताको पनि दबाब आएपछि राजीनामा दिनुभएको हो’, ती सांसदले भने ।

महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन् । सोमबार बिहान मुख्यमन्त्रीमा दावी पेश गर्न जान पत्र तयार हुँदै गर्दा महासचिव पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गर्दै गिरीको साटो आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी गराएपछि गिरीले आफूमाथि घात भएको बताएका थिए ।

उनले तत्कालै अध्यक्ष ओलीलाई फोन गरेर दलको नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउनु संसदीय पद्दति विपरीत भएको गुनासो गरेका थिए । तर ओलीले ‘यसपालीलाई यस्तै भयो’ भनेर टारेका थिए ।

अध्यक्ष ओलीको उत्तरबाट सन्तुष्ट नभएका गिरी आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेस र एमालेका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने क्रममा गएका थिएनन्, आज सपथ लिने कार्यक्रममा पनि गएनन् ।

‘अहिलेसम्मको संसदीय परम्परा अनुसार दलको नेता नै मुख्यमन्त्री हुँदै आएकामा त्यसलाई भत्काएर मनोमानी सुरुआत भएपछि सह्य भएको छैन’, एमाले प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘गिरी दलको नेता मात्र हैन, पार्टी पोर्टफोलियोमा पनि सिनियर र स्वच्छ छविको नेता हो, मुख्यमन्त्रीमा दाबी पेश गर्ने बेलासम्म कुनै जानकारी र विधिवत् निर्णय नगरी एक्कासि मौखिक निर्देशनको भरमा रोकेपछि त्यसको विधिसम्मत प्रतिवाद गर्नु अन्यथा होइन ।’

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्