NEWS FLASH : सौर्य एयरलाइन्स दुर्घटनामा क्याप्टेनबाहेक १८ जनाको मृत्यु, यी हुन् मृतकहरू
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एन–एएमईको जहाज दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्यबाहेक सबैको मृत्यु भएको छ।
उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीका अनुसार क्याप्टेन शाक्यलाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगिएको थियो।
बाँकी १८ जनाको भने शव निकालिएको जनाइएको छ। जहाज मर्मतका लागि पोखरा उड्दा त्यसमा सबै क्रु मेम्बर सवार रहेका थिए। धावनमार्गबाट उडेको जहाज एक्कासी बजारिँदा को–क्याप्टेन एस कटुवालसहित १८ जनाको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाका अनुसार अहिलेसम्म सोही जानकारी आएको छ।
मृत्यु हुनेमा एक विदेशी नागरिक पनि छन्। अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेस
मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक आरिफ रेडा रहेका छन्।