Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौर्य एयरलाइन्स दुर्घटनाः घाइते क्याप्टेनसहित मृतक परिवारले बीमावापत कति रकम पाउँछन्?

बुधबार, साउन ९, २०८१
  • अशोक सापकोटा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाईन्सको ९–एन–एएमईको जहाज दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्यबाहेक सबैको मृत्यु भएको छ। 

विमान दुर्घटनामा परि १ विदेशी नागरिकसहित १८ यात्रुले ज्यान गुमाएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनिष शाक्य भने यति बेला खतरा बाहिर रहेको जानकारी प्राप्त भएको छ।

संसारको सबैभन्दा सुरक्षित यात्रा भनेको हवाई यात्रालाई मानिने गर्छ, तर नेपालका लागि भने यही हवाई यात्रा सबैभन्दा असुरक्षित बन्दै गएको छ।

बुधबार भएको दुर्घटना बाहेक नेपालमा हालसम्म ६५ वर्षयता ५९ जहाज दुर्घटना भएका छन्। सरसर  हेर्दा नेपालमा हरेक वर्षजस्तो हवाई दुर्घटना हुदै आएका छन्।

हुन त मान्छेको ज्यान भन्दा ठूलो सम्पत्ति केही हुँदैन, कुनै पनि राहतले मानव जीवनको भरपाई हुन सक्दैन। तर पनि हवाईजहाज दुर्घटना भएसँगै दुर्घटनामा ज्यान गुमाएकाहरूले कति बीमा रकम पाउँछन् भन्ने कतिलाई लाग्न सक्छ।

सामान्यतया संसारभर नै हवाईजहाजमा यात्रा गर्ने यात्रुको बीमा गरिएको हुन्छ। नेपालमा पनि सोहीअनुसार बीमाको व्यवस्था छ।

नेपाली बीमा कम्पनीहरूले हवाई बीमाबापतको जोखिम ०.३० प्रतिशत मात्रै बहन गर्ने गरेका छन्। बाँकी विदेशी पुनर्बीमा कम्पनीसँग भर पर्दै आएका छन्।

नेपालमा व्यावसायिक उडान सुरु भएदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमा शुल्क २० हजार अमेरिकी डलर छ। 
बीमा शुल्क बढाउन नागरिक उड्डयन प्राधिकरणले माग गर्दै पनि आएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भने प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको छ।

सौर्य एयरको विमान दुर्घटनाको अध्ययन तथा मूल्याङ्कन गर्न सम्बन्धित इन्स्योरेन्स कम्पनीले पुनर्बीमामार्फत विदेशी सर्भेयर झिकाउँछ त्यसपछि सर्भेयरले क्षति मूल्याङ्कन गर्छ र विदेशी पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीलाई दाबी रकम पठाउँछ।

नेपालका हवाई बीमा लण्डन र युरोपका थुप्रै कम्पनीमार्फत पुनर्बीमा गराइएको छ। दुर्घटनापछि गठन हुने छानविन समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई पनि बीमा भुक्तानीको आधार मानिने छ।

विमान दुर्घटनामा १९ जना यात्रु सवार थिए। पाइलट मनिष शाक्यवाहेक सवार सबै यात्रुको मृत्यु घोषणा भइसकेको छ। मृत्यु भएको एक जना यात्रुका परिवारले २० हजार डलर रकम बीमावापत पाउँनेछन्। 

यस आधारमा आजको अमेरिकी डलरको विनिमयदरसँग तुलना गर्दा एक यात्रुले २७ लाख नेपाली रुपैयाँ बीमा रकम पाउनेछन्। आज एक अमेरिकी डलर बराबर १३४ नेपाली रुपैयाँको विनिमयदर रहेको छ।

दुर्घटनामा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी भएका कारण उनिहरुले अतिरिक्त रकम पनि पाउन सक्छन्।

प्रतियात्रु २७ लाखका दरले भुक्तान गर्दा एक क्रु मेम्बरबाहेक १८ जनालाई ४ करोड ८६ लाख रुपैयाँ बीमा कम्पनी र पुनर्बीमाले भुक्तान गर्नुपर्ने देखिन्छ। यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम हो।

त्यस्तै क्याप्टेनबाहेक अरु क्रु मेम्बरको हकमा भने ४० हजार डलर पाउने व्यवस्था रहेको छ। 

विनिमयदरअनुसार एक क्रु मेम्बर बराबर ५३ लाख ६० हजार रुपैयाँ बीमा तथा पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ।

पाइलटको हकमा भने एक लाख अमेरिकी डलर भुक्तान गर्नुपर्ने व्यवस्था रहेको बताए। विनिमयदरलाई आधार मान्दा पाइलटले एक करोड ३४ लाख रुपैयाँ बीमा रकम पाउनेछन्।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्