Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा एक सय बढी सम्बन्ध विच्छेदका मुद्दा

बुधबार, साउन ९, २०८१

रसुवा- जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । 

अदालतका स्रेस्तेदार  मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी एक सय ६२ थान मुद्दामध्ये एक सय छ थान सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । सम्बन्ध विच्छेदका एक सय ३५ थान मुद्दा फर्छ्यौट भएको र २७ थान फर्छ्यौटको प्रक्रियामा छन् । अदालतले समग्रमा एक सय ६४ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । विचाराधीन २७ मुद्दामध्ये १३ थान सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार ढकालले जानकारी दिए ।

त्यसैगरी, रसुवामा वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या २८ पुगेका छन् । विसं २०६४ देखि हालसम्म २८ विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमध्ये तिब्बती १७, भारतीय १० र भुटानी एक विदेशी महिला विवाह गरी रसुवा आएको जिल्ला प्रशासनको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रशासनले गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार दुई सयलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । गत आवमा नागरिकताको प्रतिलिपि दुई हजार दुई सयले लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत १८ हजार चार सय ३६ ले राष्ट्रिय परिचयपत्र बायोमेट्रिकसहित विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्