Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीआरआई छलफल नगरी कार्यान्वयन गर्न सकिन्न : परराष्ट्रमन्त्री राणा

बुधबार, साउन ९, २०८१

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् ।

सो परियोजना कार्यान्वयनसम्बन्धी योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री राणाले यो अडान सुनाइन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि राणाको छ । सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षसँग पनि छलफल गर्ने उनको भनाइ छ । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘बीआरआईसम्बन्धी पनि जति पनि कुराहरू आइरहेका छन् । त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साइन भएको हो । र, इम्पिलिमेन्टेशन डकुमेन्टको बारेमा चाहिँ छलफलमात्रै सुरु भएको छ । अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अब यो ऋण लिने हो कि लोन लिने हो कि, कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अव यसमा लार्जर छलफलमा जानुपर्छ । बीआरआई भन्ने बित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन । यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकी नै छ ।’

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्