Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

बुधबार, साउन ९, २०८१

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरूबारेको ब्रिफिङ लिएपछि उपप्रधानमन्त्री सिंहले पूर्वाधार बनाउने मात्रै नभएर तिनको उपयोग र संरक्षणमा पनि जोड दिनुपर्ने बताए । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरूको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बागमतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए । उनले बनेर पनि प्रयोगमा नआएका ढलहरूलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरूको संरक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिए ।‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौँ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ बनाएको ढलहरू प्रयोगमा त आउनुपर्‍यो । बनाएको छ, खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ कि छैन हेर्नुपर्‍यो ।’

उपप्रधानमन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । बागमतीमा सफा पानी बगाउनका लागि बागमतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए।

‘बागमतीमा बाह्रै महिनै पानी बगाउन हामीले सोच्नुपर्छ । धाप ड्यामको क्षमता पशुपतिमा हुने ठुला–ठुला जात्रामा पानी बगाउन सकिने मात्र छ । त्यसको अलावा बागमती ड्याम बनाउने तयारीको कुरा त छँदैछ । त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालय सहजीकरण गर्न तयार छ,’उनले भने, ‘ पानी बगाउनैपर्‍यो । बागमतीको ड्याम बन्नुभन्दा अगाडि वैकल्पिक केही गर्न सकिन्छ कि, त्यसमा पनि सोच्नुपर्‍यो । बागमती बन्न त केही वर्ष लाग्ला । त्यो बनेपछि गरौँला भनेर त भएन । त्यसलाई पनि बनाउनुपर्‍यो । तर, यो बीचका लागि वाग्मतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्‍यो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्