Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

बुधबार, साउन ९, २०८१

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ । चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिहरूले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, उनले भने ।

आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

काठमाडौँलगायत मुलुकका अधिकांश ठूला सहरमा व्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रूपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।

आर्थिक मन्दीबाट उन्मुक्ति नपाउञ्जेल उद्यमी व्यवसायीहरूलाई चालू पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालू पुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जामा शत प्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्