Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाक्चे लाग्ना नाका २ हप्ता खुल्ने

बुधबार, साउन ९, २०८१

 

मुगु – मुगुको नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई हप्ताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द यो नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै डोल्पाको मायुम्ला नाका पनि दुई हप्ताका लागि खुला गरिने उहाँले बताउनुभयो । चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी केसीको भनाइ छ ।

नाक्चे लाग्ना नाका भएर स्थानीयवासी आवश्यक सामग्री खरिद गर्न  हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालमा रहेको चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी,  चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको छ ।

नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् । मुगुम कार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउनुहुन्छ ।

सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमी सडक बनाउने कार्य अघि बढेको छ । अहिलेसम्म १७ किमी सडकको ट्र्याक खोल्ने काम सकिएको छ । नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीमा रहेको नाइजु जोड्ने नाका हो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्