Nic Ad Nic Ad
Nic Ad Nic Ad
कांग्रेस राजनीति

कांग्रेस १५औं महाधिवेशन प्रक्षेपणः यसरी हुनेछ सभापतिमा अबको प्रतिस्पर्धा शेखरविरुद्ध गगन थापा

बिहीबार, साउन १०, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७औं पटक प्रधानमन्त्री बनी निर्वाचन सिध्याएर राजनीतिबाट विश्राम लिने तयारीमा छन्। यसैकारण उनले सत्ता राजनीतिमा पत्नी आरजु राणा देउवालाई अगाडि बढाइसकेका छन्। 

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवा पत्नी आरजुलाई उपसभापति बनाउन चहान्छन् भन्ने हल्ला ब्यापक छ। यो लक्ष्य स्वभाविक पनि हुनेछ। तर, १५औं महाधिवेशनमा कसको प्यानलमा आरजु उपसभापति बन्ने हुन् त्यो हेर्न बाँकी छ। महाधिवेशनको संघारमा कांग्रेसमा विभिन्न समूह खडा हुने र एकले अर्कालाई लेनदेनमा समर्पण गर्ने प्रवृत्ति पनि पुरानै हो। जस्तो १४औं महाधिवेशनमा विमलेन्द्र निधि र प्रकाशमान सिंहले गरेका थिए। 

त्यो लेनदेनमा सरिक भएका अर्का नेता थिए, रामचन्द्र पौडेल। जसलाई सभापति देउवाले राष्ट्रपति बनाएर राजनीतिबाट सन्यास लिने चरणमा पुराइछाडे। 

यसबीचमा सभापति बन्ने अभ्यासमा छन्, महामन्त्री गगन थापा। उनको तयारी तिव्र छ। उनी नयाँ पुस्ता अर्थात् अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेललाई साथमा लिएर अगाडि बढ्नेछन्। यसैकारण अहिलेको सरकारमा पौडेललाई स्वास्थ्य मन्त्री बनाउन गगनको भूमिका अहम् रहेको थियो। 

‘कांग्रेसमा पुस्तान्तरणको विषय आजको होइन। अब नयाँ नेतृत्व आउनुपर्छ भन्ने विषयका आधारमा नै महामन्त्री सभापति बन्ने तरखरमा हुनुहुन्छ’, गगननिकट भन्छन्। 

त्यसो त सभापति बन्ने होडमा गगन रहनुको अर्को तेजिलो सम्भावनाचाहिँ मन्त्री पद नलिनु हो, अनि संसदीय दलको नेतामा पराजित हुन्छु भन्ने जान्दाजान्दै सभापति देउवासँग चुनावमा उठ्नु हो। आफ्ना समूहका नेता मानिएका डा. शेखर कोइरालाले पनि नगरेको आँट गगनले त्यसबेला गर्नु भनेकै उनी भावी नेतृत्वको तिव्र गतिमा छन्। 

उनको राजनीतिक यात्रा पनि उस्तै नै देखिन्छ। 

गगनको आन्तरिक राजनीतिमा महामन्त्रीमा निर्वाचित हुन्जेलसम्मको समीकरणीय यात्रा रोचक छ। 

तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला हुँदा केन्द्रीय समिति त के नेपाल विद्यार्थी संघको पदाधिकारीमा नै आउन रोकिएका गगन शेरबहादुर देउवाको काखमा थिए। सुशील कोइराला आएपछि उनी कांग्रेसको मध्य भागको राजनीतिमा आए। 

१२औं महाधिवेशनमा पहिलो पटक सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य जितेका गगन १३औं महाधिवेशनमा कृष्ण सिटौला खेमाबाट महामन्त्री पदमा पराजित भए। 

त्यसपछि उनको महामन्त्री बन्ने लक्ष्यको अर्को पाटोमा आइपुगे डा. शेखर कोइराला। कोइराला प्यानलबाट १४औं महाधिवेशनमा अत्यधिक मत ल्याएर महामन्त्रीमा निर्वाचित गगन १५औंमा सभापति बन्ने लक्ष्यमा छन्। त्यसबेला प्रतिस्पर्धात्मक हिसाबले उनको भेट शेखर कोइरालासँग नै हुनेछ। 

यता उपसभापति धनराज गुरुङलगायतका नेताले सार्वजनिक रुपमा नै अबको सभापतिमा गगन थापा नभई शेखर कोइराला नै हुने घोषणा गरेका थिए। स्मरणीय छ, बर्ष दिनअघि यहि विषयले शेखर समूहमा विवाद रहेको सतहमा आएको थियो। 

कोइराला परिवारले पनि नेतृत्वमा अब ‘टफ कम्पिटिशन’ हुने भएकाले नै एक हुने निधो गरेका छन्। सुजाता कोइरालाले पत्रकार सम्मेलन गरेर नै अबको सभापतिमा दाजु शेखरलाई सहयोग गर्ने घोषणा गरिन्। अबको केही महिनामा डा. शशांक कोइरालाले पनि सोही घोषणा गर्नेछन्। किनभने उनीहरूले अहिलेदेखि नै गगनसँगको प्रतिस्पर्धा हुन सक्ने आँकलन गरिसकेका छन्।

सभापतिमा गगन थापा निर्वाचित होलान् या नहोलान् अथवा त्यसबेलाको परिस्थितिमा कस्तो सम्झौता बन्ला त्यो अलग विषय हुन सक्ला तर अहिलेको अभ्यास भने यहि पेरीफेरीमा चलिरहेको कांग्रेस नेताहरू बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्