Nic Ad Nic Ad
Nic Ad Nic Ad

१ वर्षमा पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- गत आर्थिक वर्ष ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । विभागका अनुसार २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सिमेन्ट र क्लिंकर निर्यात ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले बढी हो ।

आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकर निर्यात भएको थियो । त्यसमध्ये ३५ करोड ८९ लाख रुपैयाँबराबरको सिमेन्ट र ४२ करोड ३ लाख रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्ष एक अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको थियो । विभागका अनुसार १ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३७६ टन तयारी सिमेन्ट निर्यात भएको थियो । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारतमात्रै हुन् ।

मुलुकको सिमेन्ट र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको बजार भारत मात्र रहेको विभागको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । ०७०/७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो ।

०७१/७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँबराबरको १५ हजार १ सय ८९ टन र ०७७/७८ मा ८३ हजार रुपैयाँबराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । मुलुकमा ६५ सिमेन्ट उद्योग छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्