Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाशमानले यसरी मागेका थिए देउवासँग उपप्रधानसहितको मन्त्रालय, अनि सिटौला आउट भए

बिहीबार, साउन १०, २०८१

काठमाडौं– कांग्रेस–एमाले संयुक्त सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री बनाउने पक्षमा थिएनन्। कांग्रेस सभापति शेरबहादुर देउवा पनि लगभग त्यो विषयमा सहमत नै थिए। 

उपप्रधान बनाउँदा पनि कृष्णप्रसाद सिटौलाको नाममा लगभग सहमति भएको थियो। यति मात्र होइन, सिटौलाले गृह मन्त्रालयको पनि जिम्मेवारी पाउने लगभग पक्कापक्की थियो। 

तर कांग्रेसभित्रको आन्तरिक समीकरण र नेताको आग्रहका कारण अन्तिम अवस्थामा मन्त्रीको लिस्टको नाम फेर्न देउवा र ओली बाध्य हुनुपरेको तथ्य जानकारीमा आएको छ। 

यसमा प्रकाशमान सिंहको भूमिका प्रधान रहेको मानिन्छ। 

उनले आफू बिरामी परेको र अब कांग्रेस राजनीतिको उत्तरार्धमा पनि रहेका कारण महाधिवेशनमा सहयोग गरेको बदला उपप्रधानसहितको राम्रो मन्त्रालय दिन देउवासँग माग गरेका थिए। 

प्रकाशमान भारतमा उपचार गरी भर्खर मात्र फर्किएका बेला मन्त्रिपरिषदको गठनको तयारी चलिरहेको थियो। 

उनी पत्नी सृजनासहित देउवा निवास बुढानिलकण्ठ पनि पुगेका थिए। 

उच्च स्रोतका अनुसार पत्नी सिर्जना सिंहले पनि काठमाडौंको मेयरमा पराजय भोगेको सुनाउँदै प्रकाशमानले ओली नेतृत्वको सरकारमा कांग्रेसबाट आफूलाई नेतृत्व दिन माग गरेका थिए। 

प्रकाशमानले उपप्रधानसहित गृह मन्त्रालय माग गरे पनि देउवाले रमेश लेखकलाई सो बचन दिइसकेका कारण फेर्न नसकिने उत्तर दिए। त्यसपछि उपप्रधानसहित जुन मन्त्रालय भए पनि हुने भनेपछि सहरी विकास मन्त्रालयको जिम्मेवारीमा पठाइएको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो। 

खासमा अहिलेको सरकारमा कांग्रेसबाट कृष्ण सिटौलालाई उपप्रधानसहितको नेतृत्व दिने तयारी देउवाले गरेका थिए। महाधिवेशनमा दिएको साथसँगै राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसकेका कारण त्यो गुण तिर्ने तयारीमा देउवा रहेका थिए। 

तर प्रकाशमानले ‘इमोस्नल्ली’ भनेपछि देउवा पग्लिएको चर्चा कांग्रेसवृत्तमा पनि रहेको छ। देउवाले सिटौलालाई आलोपालोमा आफू प्रधानमन्त्री बन्दा उपप्रधानसहित अर्थ मन्त्रालय दिने वाचा दिएको पनि बताइन्छ। 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्