गैर प्राविधिक ‘बच्चा र उनकी आमा’ रहेका कारण सौर्य एयरले नाम विवरण ढिलो दिएको थियो
काठमाडौं– ‘सी–चेक’का लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भए पनि त्यसमा सवारको नाम निक्कै ढिलो मात्र प्रकाशित भयो।
यात्रुको संख्या यकिन गर्नका लागि कठिन हुनुको कारणचाहिँ गैर प्राविधिक दुई जनालाई सवार गराइनु रहेको थियो। यस विषयमा सरकारले गठन गरेको छानबिन आयोगले पनि पूरा विवरण बुझ्नेछ।
सौर्य एयरको सीआरजे–९–एनएमई विमान बुधबार धावनमार्ग छाडेको २० सेकेन्डमा नै दुर्घटना भएको थियो। त्यसका क्याप्टेन मनिषरत्न शाक्यबाहेक अन्य १८ जनाको मृत्यु भयो।
तर नागरिक उड्डयन प्राधिकरण, सौर्य एयरलाइन्सले बोर्डिङ पास भइसकेको चेक लिस्ट दिन किन ढिलो गरेको थियो भनेर प्रश्न उठेको थियो।
यसको कारण प्राविधिक र इन्जिनियर मात्र बोकेर गर्नुपर्ने उडानमा दुई जना भने विधिविपरित सवार गरिएको थियो। त्यसमा सौर्य एयरका इन्जिनियर मनुराज शर्माकी पत्नी प्रिजा खतिवडा र छोरा अधिराज शर्मा थिए।
प्रिजा उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरको काम गर्थिन् भने अधिराज नाबालक थिए। मनुराजले प्रिजा र अधिराजलाई कार्यालय र स्कुलबाट ल्याएर सौर्य एयरको सहमतिका आधारमा नै उक्त विमानमा चढाएर पोखरा घुमाउने रहर राखेका थिए।
विमान दुर्घटनाले मनुराजसहित परिवारका तीनै जनाको दुखद निधन भयो। तर, यसले वैधानिक प्रश्नचाहिँ उठाएको छ।
‘हामीले सौर्य एयरसँग नामलिष्ट माग्यौं, उसले दिन सकेको स्थिति थिएन। नागरिक उड्डयन प्राधिकरणसँग पनि मागेका थियौं। कम्तिमा त्यो लिस्ट आउन एक घन्टा लाग्यो’, सुरक्षाका उच्च अधिकारीले भने,‘पछि तयार पारेर दिँदा कतिपय भ्रमित सूचना पनि फैलिसकेको पायौं।’
विमानमा कतिजना छन् र को–को हुन् भन्ने लिस्ट यकिनसाथ नदिएका कारण चालकदलसहित १७ जना प्राविधिक रहेकोमा सबै सञ्चारमाध्यममा १९ जना भन्ने प्रकाशित र प्रशारित भयो। तर त्यसमा एक प्रिजा र बालकचाहिँ प्राविधिक थिएनन्। यसबारेमा अहिले प्रश्न खडा हुनुका साथै स्पष्टीकरण सोध्ने काम पनि हुने उच्च निकायले जनाएको छ।