Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै

शुक्रबार, साउन ११, २०८१

घोराही– रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन् ।

छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आफ्नै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनी खुशी छन् । ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उनले बताए ।

‘ड्रागनफ्रुट रातो प्रतिकिलो चार सय तथा सेतो  चार सय ५० रुपैयाँका दरले घरबाटै बिक्री हुने गरेको छ’, उनले भने, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौँ समेत पठाउने गरेको छु ।’ परम्परागत कृषि कर्मबाट उपलब्धि हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताए ।

करिब ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागनफ्रुट फर्म’ दर्ता गरेर विगत छ वर्षदेखि दुई बिघा जमिनमा व्यावसायिक रूपमा खेती गर्दै आएको छ ।

‘वार्षिक २० लाखदेखि २५ लाख रुपैयाँसम्म कारोबार हुन्छ’, बुढाले भने, ‘दुई बिघामा करिब एक हजार तीन सयभन्दा बढी बिरुवा रहेका छन्, प्रति बिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुन्छ । वार्षिक बचत १५ लाख रुपैयाँसम्म हुने गरेको छ ।’

ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । तीन/चार वर्ष अघिसम्म प्रतिकिलो आठ सय ५० मा बिक्री हुने गरेको ड्रागनफ्रुटको बर्सेनि मूल्य घट्दै गएको बुढा बताउँछन् । उनी भन्छन्– ‘चार वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन । विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आएको छ ।’

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेका छन् ।

अन्य तरकारी, पशुपालनलगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउँछन् । उनी पनि लामो समय वैदेशिक रोजगारमा रहेका थिए  । सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिकरुपमा साथीहरूसँग यो व्यवसाय गरेको उनले बताए ।

बुढाले भने, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूलाई विक्रीका लागि समस्या नभएको उनले बताए ।

बुढाले भने,‘ अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पादन हुन थालेको छ । एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुटको खेतीमा व्यावसायिक रूपमा लाग्नुभएको छ ।’

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन् । दुई बिघा जग्गाको भाडा वार्षिक ६० हजार तिर्ने गरेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्