Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

शनिबार, साउन १२, २०८१

चितवन - नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने कम्तिमा ३८ जना बेपत्ता छन् । २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ ।

भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा बेपत्ता बसको खोजी गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बेपत्ता बसको खोजी गर्न एनडिआरएफको टोली आएको पनि एक हप्ता भइसकेको छ । बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई पहिरोले सोहोरेर त्रिशूलीमा खसेको थियो । तीन जनाले पौडिएर ज्यान जोगाए भने ६२ जना नदीमा डुबे ।


 

प्रतिक्रिया दिनुहोस्