Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबको राजनीतिक विमर्श कसरी समृद्धि प्राप्त गर्ने भन्नेमा हुनुपर्छ : डा. बाबुराम भट्टराई

शनिबार, साउन १२, २०८१

काठमाडौँ -पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको राजनीतिक विमर्श नेपालले कसरी समृद्धि प्राप्त गर्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

शुक्रबार त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रिय क्याम्पसले आयोजना गरेको ‘विश्वविद्यालय विमर्श’ कार्यक्रममा पुर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका छन् ।


राज्य र लोकतन्त्र निर्माणको चरणपछि अब नेपालको राजनीति जनताको सुख तथा समृद्धितर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘राज्य र लोकतान्त्रिकरण निर्माणको चरणपछि अब जनताको सुख, समृद्धि र खुसीयाली प्राप्त गर्ने समय हो,’ उनले भने, ‘त्यसैले हामी समृद्ध प्राप्त गर्ने चरण तर्फ प्रवेश गरेका छौँ । अब हाम्रो राजनीतिक विमर्श, अध्ययन र चिन्तन यसमा केन्द्रित हुनुपर्छ ।’

उनका अनुसार नेपालको इतिहासलाई तीन चरणमा बाँडेर बुझ्नुपर्दछ । उनी भन्छन्, ‘१८ औँ र १९ औँ शताब्दी राज्यको निर्माणको चरण रहेको, त्यसपछि यता जनतालाई कसरी अधिकार सम्पन्न बनाउने भन्ने लोकतन्त्र र अधिकारको निम्ति लडाइँ गरेको चरण हो ।’ यो चरण २०७२ सालको संविधान जारी गर्दासम्म रहेको भट्टराईको भनाइ छ ।

स्वतन्त्र विद्यार्थी युनियनले हरेक साताको शुत्रबार विश्वविद्यालय विमर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अवसरमा ‘नेपालले लिनुपर्ने बाटो’ विषयमा बोल्दै भट्टराईले दुनियाँ बदल्न र बुझ्न यसको गतिशीलता बुझ्नुपर्ने उल्लेख गरे ।

‘कार्ल मार्क्सको भनाइलाई बोध गरेको हुनाले एउटा त बदल्न निरन्तर प्रयत्न गरिराख्नुपर्छ,’ उनले भने, ‘बुझेर मात्र भएन त्यसलाई अझ उन्नत बनाउनुपर्छ । त्यसको लागि सक्रिय सामाजिक राजनीतिक कर्म गर्ने ।’

उनी आफैँ पनि बुझ्नको निम्ति पढ्ने, लेख्ने र बदल्नको निम्ति राजनीतिक संघर्ष गर्ने गरेको कुरा विश्वविद्यालयका विद्यार्थीमाझ राखे ।

‘विश्वविद्यालयले प्रश्न गर्ने र एउटा आलोचनात्मक चेत सहितको थलो बनाउनुपर्छ भन्ने मान्यता राख्छु । प्रश्न उठाउने र जवाफ खोज्ने र ज्ञान प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो,’ उनले भने, ‘सामाजिक, आर्थिक रूपान्तरणको निम्ति राजनीति गर्नु सही हो । निजी तथा आफन्तको लाभको निम्ति कुर्सी वा सत्तामा बस्ने भन्ने कुरा व्यक्तिको चिन्तनमा भर पर्छ । म चाहिँ सत्ताको निम्ति सत्ताको राजनीति होइन सामाजिक रूपान्तरणका लागि राजनीति अब तपाईँहरूले गर्नुपर्छ भन्छु ।’
 

प्रतिक्रिया दिनुहोस्