Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसलाई एक तहका नेता तथा कार्यकर्ताले बदनाम गरे : सुजाता कोइराला

शनिबार, साउन १२, २०८१

काठमाडौँ- नेपाली काँग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले काँग्रेसलाई एक तहका नेता तथा कार्यकर्ताहरूले बदनाम गरिरहेको टिप्पणी गरेकी छिन् । 

काँग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । शनिबार काठमाडौँमा आयोजित ४२औँ बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरूले सङ्घर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरूले बदनाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । 

उनले भनिन्, ‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । काँग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बदनाम गर्न खोजिरहेका छन् । काँग्रेस अहिले बदनाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्,‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात् गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ ।  मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली काँग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’ 

सिद्धान्तबिना राजनीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले काँग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा। शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । 

‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’उनको भनाइ थियो । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा।शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रूपमा डा।शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्