Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’

आइतबार, साउन १३, २०८१

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् ।


उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको एक करोड ४४ लाख ७५ हजार एक सय १२ रुपैयाँ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिए ।

उनले कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको बताए ।


परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गर्ने तयारीका साथ काम भइरहेको अध्यक्ष मल्लले बताए ।

पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ ।

आयोजना निर्माणका लागि आव २०७९–८० मा ५३ लाख ११ हजार आठ सय ५२ र २०८०–८१ ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सुनिल सिंह बोहोराले बताए ।

उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो ।

सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

घरघरमा धारा जडान गरेर पानी वितरण गर्न थालेपछि मितव्ययी प्रयोग, समयको बचत र पानीका कारण हुने सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए ।

खानेपानी वितरणलाई व्यवस्थित बनाउन प्रत्येक धारामा मिटर जडान गरिएको छ । आयोजनाको दिगो व्यवस्थापनका लागि महसुुल निर्धारण गर्ने र एकजना कर्मचारी नियुक्त गर्ने तयारी भएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्