Nic Ad Nic Ad
Nic Ad Nic Ad
सत्ताको भुंग्रोमा डीआईजी केसी

कांग्रेस सत्तामा उक्लियो कि डीआईजी केसीलाई थन्क्याउँछ, किन?

आइतबार, साउन १३, २०८१

काठमाडौं– जब–जब नेपाली कांग्रेस सत्तामा उक्लिन्छ अनि संगठनको थान्कोमा पुर्याइन्छ नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) डा. मनोज केसीलाई। 

डीआईजी सरुवाको अख्तियारी पाएको गृह मन्त्रालय अहिले कांग्रेसको पोल्टामा छ र त्यसको नेतृत्व रमेश लेखकले गरेका छन्। विशेष ब्युरोको जिम्मेवारीमा पुगेका डीआईजी केसीलाई दुई महिना पनि नपुगी सरुवा गरिएको छ, प्रहरी प्रशिक्षण महाराजगञ्जमा। 

त्यहाँ डीआईजीको भूमिका भनेको ‘ट्वाईसी’को भन्दा माथि हुँदैन। त्यसको नेतृत्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)ले गर्दछन्। 
डा. केसीको सरुवा किन गरियो? 

यसभित्रको कारण हो– उही नक्कली भुटानी शरणार्थी प्रकरणको शिलशिलामा गरेको काम। केसीले यस प्रकरणका मुख्य बिचौलिया भनिएका बेचन झालाई नेपालबाहिरबाट पक्राउ गरी ल्याएका कारण कांग्रेसको कारबाहीमा परेको चर्चा छ। 

झा पक्राउ पर्नासाथ सत्ता समीकरण बदलिएको थियो। यसलाई संयोग भन्न सुहाउने भए पनि अहिले प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य कारण भनी दाबी गरेका थिए, सदनमा। 

डा. केसी रहेको विशेष ब्युरो नेपाल प्रहरीको खास युनिट हो। जसले प्रतिआतंकवादसहित अन्तर्राष्ट्रियस्तरमा अपराधीको खोजीनीति गर्दछ। 

जब–जब कांग्रेस सत्तामा आउँछ केसी कारबाहीको भुंग्रोमा पर्ने गरेका छन्। यसअघि उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुख रहेका बेला केसीले नै नक्कली भुटानी शरणार्थी प्रकरणको मिहिन अनुसन्धान गरेका थिए। 

जब माओवादी नेतृत्वको सरकारमा कांग्रेस सामेल भयो अनि केसीको सरुवा भएको थियो। उच्च स्रोतले भन्यो,‘सरुवाको प्रकृति नै नियोजित हिसाबको छ। यसकारण भुटानी शरणार्थी प्रकरणमा कहिँ न कहिँ कांग्रेसका अन्य नेता पनि सामेल छन् भन्ने शंकाको सुविधा छ।’

केसीले नै यस प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहितलाई पक्राउ गरी कारबाहीको दायरामा उभ्याएका थिए। 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्