युट्युब च्यानलप्रति आक्रामक हुँदै प्रेस काउन्सिल
काठमाडाैं -प्रेस काउन्सिल नेपालले युट्युब च्यानललाई पत्रकारिता आचारसंहिता भित्र राख्ने गरी कडाइ थालेको छ। युट्युब च्यानलले व्यक्ति विशेषलाई गालीगलौज गर्ने, मानमर्दन गर्ने, पारिवारिक अवस्था बिगारिदिने तथा पत्रकारिता आचारसंहितको ठाडो उल्लंघन गर्ने क्रम बढेपछि काउन्सिल त्यस्ता युट्युब च्यानलप्रति आक्रामक बनेको हो।
प्रेस काउन्सिलले यसका लागि युट्युब च्यानलको व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ। सो कार्यविधि कार्यान्वयन सँगै युट्युब च्यानलहरू सच्चिन थालेको काउन्सिलले जनाएको छ।
गत वैशाख १ गतेदेखि काउन्सिलको सो कार्यविधि लागू भएसँगै भक्तपुर, ललितपुर, झापा, काठमाडौं जस्ता जिल्लामा युट्युबमा आबद्ध पत्रकारलाई सचेतीकरण गरिएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानलले पनि अन्य सञ्चारमाध्यम जसरी नै कानुनको दायरामा रहेर सञ्चालन गर्नुपर्ने बताए।