Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ

आइतबार, साउन १३, २०८१

काठमाडौँ- काठमाडौँ उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट दुई थान खुकुरी र विभिन्न गरगहनासमेत बरामद भएको छ ।

लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसहित तीन जनाको समूह आए पनि बाँकी २ जना भने फरार भएका थिए ।

पक्राउ परेका लामाको साथवाट दुई थान खुकुरी, सुनको बेरुवा औँठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।

यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्