Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो

आइतबार, साउन १३, २०८१

काठमाडौं- सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्न गम्भीर भएर अध्ययनका लागि सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै कमजोरी हटाउने गरी गम्भीर भएर अध्ययन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

 

उनीहरूले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोपसमेत लगाएका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानबिन आयोगप्रति प्रश्न उठाए ।

उनले जहाज मर्मतमा जाँदा अन्य व्यक्तिलाई लानुपर्ने र पोखरा विमानस्थलमै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे ।

सबैभन्दा सुरक्षित हवाइ उडान नेपालमा भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने उनले बताए ।

त्यस्तै सांसद सांसद राजेन्द्र बजगाईंले नेपालमा हवाइ सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनुपर्ने बताए । नेपालमा हवाइसेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने अवस्था थप जटिल हुने उनले बताए ।

त्यस्तै सांसद सुनिता बरालले पटक पटकका घटनाक्रमले अहिलेको नियमक निकायबारे सोच्न गम्भीर हुनुपर्ने अवस्था आएका उल्लेख गरिन् ।

हवाइक्षेत्रसम्बन्धी निकायलाई नीतिगत रुपमा नै ध्यानाकर्षण गराउन जरुरी देखिएको उनको भनाइ छ । बरालले सरकारले गम्भीर भएर हवाइ क्षेत्रमा आवश्यक सुधार थाल्नुपर्ने बताइन् ।

गत बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो ।

मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्