Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रहरीभित्र नेपथ्यको तथ्य

संगठन प्रमुखलाई बाइपास गरेपछि भयो डीआईजी केसीको सरुवा, कम छैनन् जालसाजीका अन्य कथा

सोमबार, साउन १४, २०८१

काठमाडौं– दुई महिनामा नै प्रहरीको विशेष ब्युरो प्रमुखको जिम्मेवारीबाट प्रशिक्षण कार्यालयमा सरुवा गरिएका नायव महानिरिक्षक (डीआईजी) मनोज केसीको विषय प्रतिनिधि सभाको आइतबारको बैठकमा जोडतोडका साथ उठ्यो। 

हो न हो राजनीतिक रुपमा नै उनको सरुवा भएको विषयमा कन्भिन्स हुने स्थिति रहेको भन्ने धेरैले टिका टिप्पणी गर्नु स्वभाविक जस्तै लाग्थ्यो। किनकी, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा उपत्यका अपराध अनुसन्धान महाशाखादेखि विशेष ब्युरोमा पुग्दासम्म उनको भूमिका रहेको चर्चा चलिनै रहेको थियो। 

तर डीआईजी केसीको सरुवा राजनीतिक आग्रहका रुपमा नभएको तथ्य फेला परेको छ। यति मात्र होइन गृह मन्त्रालयले सरुवा गरे पनि डीआईजी केसीप्रति कुनै पूर्वाग्रहपूर्ण नभई संगठनमा देखाएको बेथितिका आधारमा भएको खुलेको हो।

संगठनमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदादेखि नै केसी ‘चेन अफ कमान्ड’ बाहिरको कार्यकलापमा सक्रिय रहेका थिए भने राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिझाउने र संगठनात्मक रुपमा प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई बाईपास गर्ने काममा सक्रिय रहेका थिए। 

कुनै पनि विषयको जानकारी महानिरिक्षक र उनको सचिवालयलाई दिनुको साटो केसी प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्याम ज्ञवाली र पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई दिने, संगठन प्रमुखलाई नटेर्ने काममा सक्रिय रहेको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दिएको छ। 

‘विशेष अवस्थामा यस्ता सरुवा हुने हुन्। अहिले राजनीतिक जस्तो देखिए पनि केसीका आफ्नै व्यवाहारका कारण उनलाई खास जिम्मेवारीबाट अलग गरिएको हो’, प्रहरी उच्च स्रोतले बतायो। 

प्रहरीको विशेष ब्युरो भनेको प्रतिआतंकवाद हेर्ने र अन्तर्राष्ट्रिय अपराधको सूचना लिने विश्वस्त विभाग हो। जसलाई प्रहरी महानिरिक्षकले खास रुपमा चासो दिन्छन्। तर केसीले त्यसको उपयोग संगठनको हितमा र चेन अफ कमान्डमा नगरी त्यसलाई भत्काएर चुहावट गर्ने काम गरेको दाबी गरिएको छ। 

‘कतिपय जानकारी संगठन प्रमुखलाई नहुने अन्यत्र नै दिने गरेको पाइयो। विशेष ब्युरोको काम कर्तव्य र भूमिकाभन्दा अलग रही गलत काम गरेपछि सरुवा हुनु स्वभाविक थियो’, स्रोतले भन्यो।

त्यसैले अहिले सदनमा पनि उनको सरुवाको हाउगुजी बनाइएको छ, यो पूर्वयोजनाका साथ रास्वपाले खेलेको खेल हो। 

केसीका यति मात्र काम काफी होइनन्। उनले आफू एसएसपीबाट एक नम्बरमा बढुवा हुने चाल पनि चालेका थिए। लामिछाने गृहमन्त्री भएका बेला बढुवा सूचीमा उनीभन्दा अब्बल रहेका दानबहादुर कार्कीलाई तीन नम्बरमा राखी एक नम्बरमा आफूलाई पारिसकेका थिए। 

तर उनको यो योजनामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तगारो बनिदिए। लामिछानेले एउटा ब्याचै मिचेर तयार पारेको बढुवा सूचीको एक नम्बरको नामबाट केसीको नाम पछाडि सार्ने काम प्रचण्डले गरिदिए।  

चार डीआईजी बढुवामा परेका केसीले एक नम्बरमा रहेका दानबहादुर कार्कीलाई तीन नम्बरमा पारि नै सकेका थिए। तर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेपछि केसीको त्यो योजना असफल भएको खुमलटार स्रोतले जनाएको छ।

खुमलटार स्रोतले भन्यो,‘हो, त्यो चलखेल भएको थियो। तर प्रहरी जस्तो संगठनमा काम र भूमिका अनि कार्य सम्पादन मुल्यांकनका आधारमा कार्की नै एक नम्बर हुने देखिएपछि प्रधानमन्त्रीको भूमिकामा रहनुभएको अध्यक्षले हस्तक्षेप गर्नुभएको थियो।’
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्