२३ लागे हृदयेन्द्र शाह, राजयोग कुन्डलीसहित यस्तो छ ज्योतिष भविष्यवाणी
काठमाडौं– अन्तिम राजाका रुपमा रहेका ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह आजदेखि २२ पूरा गरी २३ औं बसन्तमा प्रवेश गरेका छन्। लोकतान्त्रिक आन्दोलनका बेला बालख रहेका उनी अहिले तन्नेरी भएका छन्।
कतिपयले उनलाई राजसंस्था फर्किँदा राजाका रुपमा स्थापित हुने पनि अनुमान गरेका थिए। तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भनेका थिए– राजतन्त्र हुन ‘बेबी किङ’ राख्न सकिन्छ भनी हृदयेन्द्रमाथि नै संकेत गरेका थिए।
भर्खरै जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्र प्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तिव्र आलोचना भएको थियो।
यहाँसम्मकी वात्स्यानले ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाए जसले निक्कै चर्चा र बहस सृजना गरेको थियो।
कोइरालाको उक्त घोषणाताका हृदयेन्द्र ३ वर्षका थिए । तर, अहिले जवान भइसकेका छन्।
हृदयेन्द्रले स्नातक तहको शिक्षा सकेका छन्। बेलामौका अभिभावकसँग विभिन्न शक्तिपिठ धाउने उनी सामाजिक सञ्जालमा पनि देखिन्छन्।
पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन्।
धर्ममा रूची राख्ने हृदयेन्द्रका विषयमा विभिन्न ज्योतिषहरूले बलियो कुन्डली सार्वजनिक गरेका थिए। ज्योतिष पण्डित पद्मभक्त खरेलले कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोगको भविष्यवाणी गरेका थिए।
राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने कुन्डलीले देखाएको थियो। हृदयेन्द्र १४ साउन २०५९ मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए।
‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका थिए,‘राजा हुने योग छ । यो शास्त्रीय प्रमाणको आधार हो।’
चन्द्रमालाई राशी स्वामीको मित्र दृष्टि पर्यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्मलग्न कुन्डलीअनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेलले बताएका थिए।
‘चन्द्रमा बसेको घर मीन राशि हो । मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भविष्यवाणी गरेका थिए।
हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरेका थिए। पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो।
‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मि बक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो। यस्तै हृदयेन्द्रको हकमा पनि लागू हुने देखिन्छ’, उनले भनेका थिए,‘प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए ।’
हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएको ज्योतिष शास्त्रीको भनाई छ।
दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन्। दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ।’
(अर्काईबबाट अध्यावधिक)