२०८४ मा माओवादी एक्लै चुनावमा जाँदा यथा स्थितिको विश्लेषणमा कस्तो नतिजा आउला?
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक पार्टी एक्लै निर्वाचनमा जाने तयारी गर्नुपर्ने बताएका छन्।
बिगत दुई वटा निर्वाचनमा गठबन्धनीय राजनीतिमार्फत मैदानमा पुगेको माओवादीको भूगोलको अवस्था भद्रगोल रहेको नतिजा देखिएको थियो।
०७४ मा एमालेसँगको गठबन्धनका कारण सन्तोषजनक नतिजा ल्याए पनि ०७९ को निर्वाचनमा उसले खासै सन्तुष्ट हुने प्रकारले संसदमा उपस्थिति जनाउन सकेन।
अब आगामी तीन बर्षपछि हुने निर्वाचनमा भने गठबन्धन नगरी जाने तयारी भइरहेको प्रचण्डले बताएका छन्। तत्कालका लागि उनले यसो भनिरहँदा कस्तो नतिजा आउन सक्ला?
यसको विश्लेषण गरिएको छ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादी एक्लै भयानक शक्तिका रुपमा उदय भएको थियो। त्यसबेला एक करोड ५ लाख सदर मतको ३२ प्रतिशतभन्दा बढी ल्याएको थियो।
टुट फुट र विभाजनसहित शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिको दोस्रो चरणबाट भने माओवादी जनतामाझ ओरालो यात्रामा लागेको तथ्यांकले पुष्टि गर्छन्।
यसमा तीन वटा प्रमुख कारण रहेका छन्। कारण खुलाएर मत विश्लेषण पनि खुलाइनेछ।
पहिलो कारण– संसदीय राजनीतिमा प्रवेश गरेपछि माओवादीले छापामार सम्मिलित अर्ध सैनिक बल योङ कम्युनिस्ट लिग (वाईसीएल) गठन गरी चन्दा, फिरौतीलगायत हप्ता असुलीमा ब्यापकता दियो। जसका कारण चुनाव पर्खिएर बसेका जनताले मतमार्फत उसको आतंकलाई कमजोर बनाउँदै गए। यसका खास उदाहरण कालिबहादुर खाम हुन्।
दोस्रो कारण– सत्तामा सँधै रहने र सुकिला मुकिलासँगको संगतले नीतिगत तहदेखि भ्रष्टाचारमा लतपतियो। जसका पछिल्ला कारण हुन् प्रचण्ड र मन्त्री नभई बस्नै नसक्ने माओवादीका सांसद। यसकारण पनि प्रचण्डले रोष व्यक्त गरी ०७९ निर्वाचनपूर्व एउटा भाषणमा भनेका थिए जम्मा ४९ जना सांसदमा सबैलाई मन्त्री चाहिएको छ। कस–कसलाई दिनू?
तेस्रो कारण– गठबन्धन संस्कृतिको पुनरावृत्ति। ०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादीले ०७९ मा कांग्रेसलगायतसँग गठबन्धन संस्कृतिको पुनरावृत्ति गर्यो। यसले उसका आफ्ना ‘अग्र्यानिक’ मतदाता छुट्याउन, विश्लेषण गर्न र त्यहाँ संगठनात्मक सुधार गर्ने अवसर गुमायो।
२०६४ सालमा राम्रो मत ल्याए पनि ०७० मा आउँदा यो ह्वात्तै आधा घट्यो। समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो। माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो।
जनाधार कमजोर रहेको थाहा पाएका कारण यसो गरेर ०७४ सालको चुनावमा एमालेसँग गठबन्धन गरेको माओवादी टिक्ने स्थिति रह्यो तर त्यो दीर्घकालिन रणनीति बन्ने स्थिति थिएन।
०७४ मा समानुपातिकतर्फ कुल सदर मत ९५ लाख ४४ हजार ७७९ परेको थियो। यसमा माओवादीले माओवादीले १३ लाख ३ हजार ७२१ अर्थात् १३.६५ प्रतिशत मात्र भेट्यो। १३ प्रतिशतमा खुम्चियो।
०७९ को निर्वाचनसम्म आउँदा माओवादी कांग्रेसलगायतका दलको गठजोडमा पुग्यो। यहाँ पनि अस्तित्व जोगाउने उपायभन्दा अरु केही थिएन। कांग्रेसलगायतका दलसँग गठबन्धन गर्दा पनि माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको छ भने समानुपातिकतर्फ उसको मत पहिलेभन्दा घटेर ११.१७ प्रतिशतमा आइपुगेको छ।
अहिले पनि माओवादी छाड्ने नेताको लर्को कम छैन। जनाधार नभएका अन्य पार्टीका नेता भित्राए पनि जनाधार भएका नेता गुमाइरहेको माओवादीको मत विभाजित हुने स्थितिमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका स्वतन्त्र उम्मेदवार र गठन भएका नयाँ–नयाँ दलले मत काट्नेछन्। कुनै बेला कमजोर बनिसकेको राजावादी दल मानिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत सुधार्दा पनि माओवादीलाई हानि भइरहेको छ।
यहि स्थितिमा एक्लै चुनावी मैदानमा जाँदा माओवादी अझ कमजोर हुनेछ। किनभने एमालेको विकल्प खोज्ने मतदाताले नेकपा एकीकृत समाजवादीलाई पाउने निश्चित छ। जुन पार्टीका दुई पूर्वप्रधानमन्त्रीदेखि एमालेबाट छुट्टिएका केही प्रभावी नेताहरु पनि छन्।
उपाय के हुन सक्छ?
माओवादीको चुनाव चिन्हमा एक्लै निर्वाचनमा जाने हो र केही सिट बढाउने अथवा यहि स्थितिको जनाधार कायम राख्ने चाहना भए एकीकरणमा जोड दिनुपर्छ।
छरिएर रहेका एमालेबाहेकका कम्युनिस्ट पार्टीसँग माओवादीले मोर्चाबन्दी होइन एकीकरण गरेर नै जान सक्नुपर्छ भने भूगोल चलायमान बनाई जनतासम्म पुग्न आवश्यक छ।
एकीकरण गर्दा प्रचण्डले नेकपा एकीकृत समाजवादी, चुनावमा जाने घोषणा गरिसकेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, साना मोर्चामा रहेका अन्य कम्युनिस्ट पुच्छर झुन्ड्याएकालाई पनि एउटै छातामा ल्याउने प्रयास थाल्नुपर्छ। अन्यथा, गाह्रो छ।