Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालती मिलापत्रलाई अन्देखा गरेर मविरुद्ध संगठित दुष्प्रचार भयो : कृष्णमान प्रधान

सोमबार, साउन १४, २०८१

काठमाडौँ- निर्वाचन आयोगमा प्रस्तावित आयुक्त कृष्णमान प्रधानले आफू सा पदका लागि अब इच्छुक नरहेको भन्दै संसदीय सुनवाइ समितिलाई पत्र पठाएका छन् ।

आफूविरुद्ध संगठित दुष्प्रचार भइरहेकाले सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको उनको भनाइ छ ।पत्रमा प्रधानले आफूविरुद्ध लागेको आरोप भने अस्वीकार गरेका छन् । जिल्ला अदालतमा उजुरीकर्ताले नै आफ्नो दाबी पुष्टि गर्न नसकेकाले मिलापत्र गरेको तथ्यलाई नजरअन्दाज गरिएको उनले गुनासो गरेका छन् ।

पत्रमा उनी लेखेका छन्, ‘मैले निजउपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अन्देखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरञ्जित दुष्प्रचार गरी केही समूह सक्रियतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुःखित भएको छु । संगठितरूपमा लागेपछि झुठहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसुस गरेको छु ।’

नेपालको संविधान र संसदीय सुनवाइ समितिको प्रक्रियाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको प्रधानको पत्रमा उल्लेख छ । भविष्यमा राज्यले दिने कुनै पनि जिम्मेवारीप्रति निष्ठावान रहने उनले जनाएका छन् ।

उनी लेख्छन्, ‘मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

प्रधानबाट यौन शोषणमा परेको भनेर संसदीय सुनवाइ समितिमा ४ वटा उजुरी परेका थिए । समितिका सदस्यहरू उनको नाम अनुमोदन गर्न नसकिने अडानमा रहेका थिए । अहिले प्रधान आफैँले आफ्नो नाम झिक्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्