Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वाधार विकासका सव-इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, साउन १४, २०८१

काठमाडौं– सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल सिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा विगु गाउँपालिका–३ स्थित लाकुरीडाँडा–पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालय चौतारासँग ठेक्का सम्झौता गरिएको थियो । योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग पूर्वाधार विकास कार्यालय चौताराका सव-इन्जिनियर थापाले कमिसनबापत ८० हजार रुपैयाँ मागेको उजुरी अख्तियारमा परेको थियो ।

थापाले उक्त रकम कार्यालयका सुपरभाइजर सिवाकोटी र शेर्पालाई लिन लगाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धान हुँदा केही दिनअघि अख्तियारको टोलीले सिवाकोटी र शेर्पालाई ८० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्