Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभर एम्बुलेन्समा एकरूपता कायम गर्न ७७ वटै जिल्लालाई निर्देशन

सोमबार, साउन १४, २०८१

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्समा एकरूपता ल्याउन सातै प्रदेश र ७७ वटै जिल्लालाई निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले सातै प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्धारण गरेको मापदण्डअनुसार एम्बुलेन्समा एकरूपता ल्याउन निर्देशन दिएको हो ।देशैभरका एम्बुलेन्सको रङ, साइरन तथा अन्य संकेतमा एकरूपता ल्याउन निर्देशिकाले निर्देशित गरेको मापदण्डमा एकरूपता नआएको गुनासो आइरहेको भन्दै यस्तो निर्देशन दिएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएका एम्बुलेन्सले निर्देशिकाको मापदण्ड पूरा गरेको अवस्थामा मात्रै एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको हो ।

निर्देशिकाको दफा १५ मा राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो रङको संकेत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको, अगाडि उल्टो अक्षरबाट र ३ अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ ।

एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको, वर्गीकरणबमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको, १ हजार सीसीभन्दा बढी क्षमता भएको हुनुपर्ने निर्देशिकामा भनिएको छ ।

निर्देशिका अनुसार एम्बुलेन्समा नीलो रङको कम्तीमा ३० सेन्टिमिटर लम्बाइको स्टर अफ लाइन संकेत चिन्ह दायाँबायाँ र पछाडि गरी तीनतर्फ राखिएको, चालकको पछाडिपट्टि कुनै पनि सीट नराखिएको हुनुपर्नेछ । सरकारबाट राजस्व छुट सुविधाबाट प्राप्त गरेको एम्बुलेन्सले नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्नेछ ।

‘क’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो, त्यसबाहेक दायाँबायाँको भाग हरियो र पहेँलो रङको व्याटन वर्ग शैली भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो शैली न्यूनतम ३ धर्का भएको हुनुपर्नेछ ।

‘ख’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो, त्यसबाहेक दायाँबायाँको भाग हरियो र पहेँलो रङको वर्ग शैली भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो शैली न्यूनतम ३ धर्का भएको हुनुपर्नेछ ।

एम्बुलेन्सको रङ र स्वरूप निर्देशिकाको अनुसूची १० मा उल्लेख भएबमोजिम हुनुपर्ने, जीपीएस अनिवार्य रूपमा जडान गरिएको हुनुपर्ने, नवीकरण गरेको स्टिकर निर्देशिकाको अनुसूची १६ मा उल्लेख भएअनुसार हुनुपर्ने र यीबाहेक अन्य कुराको हकमा निर्देशिकाको व्यवस्था भएबमोजिम हुनुपर्ने भनिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्