Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडामै पराजित कृष्णबहादुर घर्तीलाई देउवाले  दिए लुम्बिनी प्रदेश प्रमुख ‘उपहार’

मंगलबार, साउन १५, २०८१

रुपन्देही -  सरकारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाउँदै कृष्णबहादुर घर्ती मगरलाई सिफारिस गरेको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी घर्ती मगर कांग्रेस सभापति शेरबहादुर देउवाको छनौटमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका  कृष्णबहादुर घर्ती  रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए ।

पार्टीमा अहिले संस्थापन समूहमा रहेका घर्ती जिल्लामा अहिले बलियो बनेको इतर समूहको लडाइँमा पराजित भएका हुन् । त्यसो त घर्तीले पहिलेबाट नै देउवालाई काँध थाप्दै आएका नेता हुन् ।

नेपाली कांग्रेस विभाजन भएको बेला शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको रोल्पा सभापति भएका घर्ती १२ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

अहिले कांग्रेस प्रदेश सभापति रहेका अमरसिंह पुनलाई हराउँदै उनी १२ औँ महाधिवेशनमा जिल्ला सभापति भएका थिए । १३ महाधिवेशनमा अमरसिंह पुन जिल्ला सभापति हुँदा प्रतिनिधि बन्न इच्छुक रहे पनि नछानिएका उनी १४ औँ महाधिवेशनमा वडामै पराजित भएर रोकिएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताए । आचार्य १४ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनी इतर समूहका हुन् । ‘कांग्रेसमा लामो समयदेखि क्रियाशील नेता हुनुहुन्छ कृष्णबहादुर घर्ती, तर १४ औँ महाधिवेशनमा वडाबाटै निर्वाचित हुन सक्नुभएन, अहिले प्रदेश प्रमुख बनेको सुन्दा निकै खुसी लागेको छ, यो सिंगो जिल्लाका लागि ठूलो उपलब्धि हो’ किशोरले भने ।

पार्टी सभापति देउवासँग निकटस्थ रहेका कृष्णबहादुरलाई पछिल्लो निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचिमा राखिएको थियो तर उनको नाम पछाडि भएकाले अट्न सकेनन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा रोल्पाका पूर्व सभापति अमरसिंह पुनले कृष्णबहादुर कार्कीलाई पार्टीले प्रदेश प्रमुख बनाएर न्याय भएको बताएका छन् । तर पार्टीले यो विषयमा आफूलाई केही सोधपुछ भने नगरेको उनले सुनाए ।

अमरसिंह पुन र कृष्णबहादुर घर्ती नाताले मामा भान्जा तथा ससुरा ज्वाइँसमेत हुन तर पुन पार्टीको कोइराला समूहमा र घर्ती देउवा समूहमा पहिलेबाटै भएकाले दुवैबीच आन्तरिक सम्बन्ध बलियो भने छैन ।

रोल्पा कांग्रेस सभापति किशोर आचार्यका अनुसार घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बसेका छन् । उनका अनुसार ६५ वर्षीय घर्तीले ५० सालदेखि नै उनले यसलाई नियमित चलाइरहेका छन् । दुई श्रीमती र ७ जना छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ ।

२०४९ सालमा गाविस अध्यक्ष भएपछि हालसम्म लाभको पदमा नगएका उनलाई यसअघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो । हाल घर्तीमगरको बसाई जिल्ला सदरमुकाम लिवाङमा छ ।

२०१६ माघ १० गते जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएर जिविस सभापतिमा लडे पनि झक्कुप्रसाद सुवेदीसँग हारेका थिए ।

२०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए घर्ती । २०४८ देखी २०७२ सम्म महासमिति सदस्य रहेका उनी २०५९ देखि २०७२ प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।

रोल्पा जिल्ला माओवादीको किल्ला मानिए पनि कांग्रेसलाई बलियो बनाउन घर्तीमगरले मेहनत गरेको उनका समर्थकहरु बताउँछन् । सशस्त्र युद्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनी जनस्तरमा राम्रो सम्बन्ध बनाएका नेताको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्