Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बुक फ्री फ्राइडे’ अब पाठ्यक्रममा : १५ विधालाई पाठ्यक्रममा  समेट्दै काठमाडौं महानगर

मंगलबार, साउन १५, २०८१

काठमाडौं - पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमअन्तर्गत ४ देखि ८ कक्षासम्मका विद्यार्थीलाई कसरी सिर्जनात्मक सिकाइमा सहभागी गराउने भनेर काठमाडौं महानगरपालिकाले पाठ्यक्रम तर्जुमा गरिरहेको छ । सामुदायिक विद्यालयमा अभ्यास गरिएका १५ विधा समेटेर महानगरले काठमाडौं विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ साझेदार संघसंस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो । 

सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले २६ मंसिर ०८० मा काठमाडौं विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत ६ वटा काम छन् । आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्यांकन, तथ्यांक र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा काम भइरहेको हो । ०८० सालमा ९ कक्षाका विद्यार्थीलाई शिक्षामा सीप कार्यक्रम सञ्चालन गरेर नमुनाका रूपमा थालिएको बुक फ्री फ्राइडे कार्यक्रम अहिले ४ देखि १२ कक्षासम्म चलिरहेका छन् । 

यसरी सिकाइ भइरहेका विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस् र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापनसहितका १५ विधा छन् । एनिमेसन र गेमिफिकेसन, नाट्य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन र कोड उपसमूहका विधा हुन् । यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो । बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका ४ देखि ८ कक्षासम्म सिर्जनात्मक सिकाइ, ९ देखि १२ कक्षासम्म शिक्षामा सीप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् । 

यस्तो हुनेछ पाठ्यक्रम
सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार एक वर्षमा २५ साताका एक सय घन्टा पुस्तकरहित शुक्रबारअन्तर्गतका सिर्जनात्मक सिकाइ कक्षा हुनेछन् । २५ घण्टा परियोजना (प्रोजेक्ट) मा आधारित कक्षा हुनेछन् । उनले भने, ‘४ कक्षामा भर्ना हुने विद्यार्थीले ८ कक्षा उत्तीर्ण हुने अवधिसम्ममा रचनात्मक सिकाइ अभ्यास गर्न पुस्तकरहित शुक्रबारअन्तर्गत आफ्नो रुचिका ५ वटा विषय छान्न पाउनेछन् ।’ 

पाठ्यक्रम र शिक्षण सिकाइको अन्तरवस्तु विश्लेषण गर्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. बालचन्द्र लुइँटेल भन्छन्, ‘पाठ्यक्रम सिकाइलाई सहजीकरण गर्ने साधन हुनुपर्छ, दायरा निषेध गर्ने माध्यम हुनुहुँदैन । संसारको प्रकृति अस्थायी छ । हामीले स्थायी प्रकृतिको पाठ्यक्रम खोज्नु हुँदैन । सिकाइ कक्षाकोठामा सीमित गर्नु हुँदैन । समुदाय पनि सिकाइ स्थल हो । अर्काको परिवेश सिक्ने होइन । आफ्नो परिवेश बुझेर त्यसलाई अन्तर्राष्ट्रिय परिवेशअनुकूल बनाउने विद्यार्थीमा क्षमता विकास गराउने सिकाइ हुनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार