Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति–कुटनीति

जुलिया चाङले छानेकी ‘बेहुली’ आरजुले परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई खुशी बनाउन सक्लिन्?

मंगलबार, साउन १५, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेकी आरजु राणाको प्रस्तुतीलाई धेरै हिसाबले नियाँल्न थालिएको छ। 

खासगरी प्रधानमन्त्री ओलीको सरकारलाई कुटनीतिक सम्बन्धमा गति दिने, टिकाउने र सहयोगी भूमिकामा उतार्न आरजुको भूमिका प्रधान हुन्छ।

प्रथम महिलाका रुपमा विभिन्न देश घुमेर त्यहाँका राष्ट्र तथा सरकार प्रमुखको धारणा बुझेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन्। 

कांग्रेस र एमाले समीकरण बन्दा पति शेरबहादुर देउवा र ओलीले सात बुँदे सहमतिमा हस्ताक्षर गर्दा सार्वजनिक भएका फोटामा आरजु पनि सँगै रहेको देखिन्छ। ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी १० कांग्रेस नेतामध्ये राणा पूर्वउपसभापति प्रकाशमान सिंह र पूर्व प्रमुख सचेतक रमेश लेखकपछि तेस्रो वरियतामाको महत्वमा राखिएको छ। 

भारतमा अध्ययन गरेकी तथा त्यहाँका राजनीतिज्ञलाई राखी समेत लगाइसकेकी आरजुले पाएको मन्त्रालयका हिसाबमा ओलीको कुटनीतिक सफलताको गाथा जोडिने अनुमान गरिन्छ। 

खासगरी भारतीय पक्षले ओलीलाई त्यति मन पराउने गरेको बुझाई छैन। किनभने नाकाबन्दीका बेला ओलीले भारतलाई दिएको च्यालेन्ज, प्रधानमन्त्री रहेका बेला लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्शा जारी गरेकोप्रति भारत सकारात्मक छैन। 

नेपाल मामिला जानकारी पूर्वनियोग प्रमुख र कुटनीतिज्ञहरूले पनि ओलीको नेतृत्वलाई सकारात्मक रुपमा ब्याख्या गर्दैनन्। संविधान जारी भएको बेला भारतले ‘रिभ्यु’ गर्न भने पनि ओलीले नकारेको तथा चीनसँगको सम्बन्धमा ओली नजिक रहेको भारतीयको बुझाईबीच आरजुको कुटनीतिक भूमिका अर्थपूर्ण बन्ने नै छ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायले ओलीको नेतृत्व अहिलेको सरकारका निम्ति खतरा रहन सक्ने सम्मको टिप्पणी गरेका आलेखहरू प्रकाशित भइसकेका छन्। यी सबै धारणालाई चिर्न तत्कालिन नेपालका लागि अमेरिकी राजदूत जुलिया चाङ ब्लकले छानेकी बेहुली आरजुको परिक्षा सुरु भइसकेको मानिन्छ।  

विभिन्न सङ्घ संस्थाहरूमार्फत् दुई दशकभन्दा लामो समय महिला सशक्तिकरण, प्रजनन् स्वास्थ्य, महिला हिंसा न्यूनीकरण सहितका क्षेत्रमा काम गरेकी उनले भारतको पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधी गरेकी आरजुको बिहे चाङले देउवासँग गराएकी थिइन्। 

अध्ययन सकेर नेपालमा गैर सरकारी क्षेत्रमा काम थालेकी उनले देउवासँगको आफ्नो भेट र विवाहलाई ‘भाग्यले निर्धारण गरिदिएको’ एउटा घटनाका रूपमा एउटा अन्तरवार्तामा उल्लेख गरेकी थिइन्।

नेपालका लागि तत्कालीन अमेरिकी चाङले सन् १९९० को दशकको प्रारम्भमा आरजुलाई त्यतिबेला गृहमन्त्री रहेका देउवा ‘विवाहका लागि उपयुक्त’ रहेको भन्दै एउटा रात्रिभोजमा चिनजान गराइदिएकी थिइन्।

सरकारको खास मध्यको मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी आरजुलाई दिन एमाले सहमत हुनुको पछाडि पनि ओलीका बिग्रिएका सम्बन्धमा निखार आउन सक्ने अनुमान गरिन्छ। त्यसैले पनि होला ओली प्रधानमन्त्रीमा नियुक्त हुनासाथ भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई आएको थियो। 

विभिन्न शक्ति राष्ट्रका राजदूतहरूले पनि ओलीलाई निरन्तर भेटिरहेको अवस्थामा आरजुको भू्मिकालाई पनि चर्चामा ल्याइने गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्