Nic Ad Nic Ad
Nic Ad Nic Ad

५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

मंगलबार, साउन १५, २०८१

काठमाडाैं  - ५७ वटा हिमाल आरोहण खुला गर्ने प्रक्रिया अघि बढेको छ । पर्यटन विभागले आरोहणका लागि खुला गर्ने हिमालको सूचीसहित प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

मन्त्रालयले स्वीकृति दिएपछि थप ५७ ओटा हिमाल आरोहणका लागि खुला हुने पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले जानकारी दिए । ‘गत आर्थिक वर्ष २०८०/८१ कै योजनामा ती हिमाल खुला गर्ने प्रक्रिया टुंग्याउने तयारी थियो,’ भुजेलले भने, ‘तर, चालू आर्थिक वर्ष (आव) को शुरूमै प्रस्ताव गरिएको छ ।’ सम्बद्ध गाउँपालिकासँग हिमाल खुला गर्ने वा नगर्ने विषयमा सुझाव मागिसकेको पनि उनले जानकारी दिए ।

गत आवको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने उल्लेख थियो । उक्त नीति चालू आवमा कार्यान्वयन हुने विभागले जानकारी दिएको छ । उनका अनुसार सम्बद्ध अधिकांश गाउँपालिकाले हिमाल खुला गर्न सहमति दिइसकेका छन् ।

विभागले गत असारमा ती गाउँपालिकाहरूसँग खुला हुने हिमाल धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारणले खुला गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा राय मागेको थियो । विभागका अनुसार यसपटक खुला हुने नयाँ हिमाल धेरैजसो कर्णाली प्रदेशका छन् । कर्णाली प्रदेशका मात्रै २० ओटा हिमाल खुला गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै कोशी प्रदेशका १७, गण्डकी प्रदेशका १६ हिमाल आरोहणका लागि खुला गर्न प्रस्ताव गरिएको विभागले जानकारी दिएको छ । विभागले हालसम्म ४०५ ओटा हिमाल आरोहणका लागि खुला गरेको छ ।

आरोहण खोल्न प्रस्ताव गरिएका हिमाल र चुचुराको उचाइ न्यूनतम ५ हजार मीटरदेखि अधिकतम ६ हजार ९३ मीटरसम्म छ । अझै पनि धेरै हिमाल आरोहणका लागि खुला गर्न बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाउने भुजेलले बताए ।

विभागले आरोहणका लागि खुला रहेका हिमालबाट गत आव २०८०/८१ मा ७७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्