Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य बीमालाई परिमार्जन गर्न आवश्यक छ : मन्त्री प्रदीप पौडेल

मंगलबार, साउन १५, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका हुन् ।


‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’

समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रूपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा बीमामा जोड्न जरुरी भएको मन्त्री पौडेलले बताए ।

त्यसैगरी जनशक्ति अभावमा सञ्चालन हुन नसकेका स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिहरेको उनले बताए ।

मन्त्री पौडेलका अनुसार आर्थिक रूपले निर्माण हुन नसकेका पूर्वाधार र जनशक्ति विना नै सञ्चालन हुन नसकेका पूर्वाधारलाई छिटो सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ ।

‘स्वास्थ्य क्षेत्रमा धेरै पूर्वाधार बनिसकेका रहेछन् । तर कतिपय खण्डहर भएर बसेका स्वास्थ्य संस्थालाई प्रयोगमा ल्याउन सकेका छैनौँ,’ मन्त्री पौडेलले भने, ‘अब जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौँ ।’

त्यसैगरी प्रतिष्ठानलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । ‘प्रतिष्ठान भएका जनशक्तिलाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि अधिकतम उपयोग गर्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट सेवा लिन कार्यविधि बनाएर अगाडि जाने योजना रहेको छ ।’

छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई गाउँमा आकर्षित गर्नका लागि सेवा–सुविधालाई बढाउनका लागि गृहकार्य गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्