Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले प्रदेश प्रमुखको गरिमा राख्न सकेन : अमिक शेरचन

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसकेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रमा सत्तासमीकरण परिवर्तन हुने बित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको उनले बताए ।सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकले लुम्बिनीको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयपछि आज, मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गरेका हुन् ।

शेरचनले कुनै कारण विना प्रदेश प्रमुख पदमुक्त गर्ने कुरा गलत भएको बताए । उनले केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको बताए ।

प्रदेश प्रमुखबाट बाहिरिँदै गर्दा शेरचनले राजनीतिक टिप्पणी समेत गरेका छन् । उनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने भनाइ राखे ।

शेरचनले प्रदेशको मन्त्री पनि केन्द्रले टुङ्ग्याउने परिपाटी गलत भएको प्रतिक्रिया दिएका छन् ।

उनले काँग्रेस र एमालेमा समानुपातिक व्यवस्थाप्रति गलत धारणा रहेको समेत बताएका छन् । पञ्चायतकालदेखि २०४८ को आमनिर्वाचन पछिका सरकार पनि स्थिर नभएको उदाहरण दिँदै समानुपातिक प्रणालीका विषयमा हचुवाका भरमा अपव्याख्या नगर्न शेरचनले आग्रह गरे ।

शेरचनले आफ्नो तीनवर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताए । उनले आफूले प्रदेश प्रमुखका रूपमा रहँदा कार्यालयलाई व्यवस्थित बनाउने काम गरेको दाबी गरे ।

३ वर्षको अवधिमा १५ वटा विधेयक प्रमाणीकरण गरेको उनले बताए । निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्