Nic Ad Nic Ad
Nic Ad Nic Ad

मानव बेचबिखन अनुसन्धानका लागि ३ महिना समय तोक्नुपर्छ : गृह मन्त्री लेखक

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- मानव बेचबिखन अपराधको अनुसन्धानका लागि ३ महिनाको समय तोक्ने गरी कानुन संशोधन गरिने गृह मन्त्री रमेश लेखकले बताएका छन् ।

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । मानव बेचबिखनको अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त नहुने भन्दै कानुन संशोधन गरेर ३ महिनाको समय बनाइने मन्त्री लेखकको भनाइ छ ।

यो अपराध अन्तर्राष्ट्रिय रूपमै फैलिएको बताउँदै मन्त्री लेखकले यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको बताए । ‘यसका विरुद्धमा शून्य सहनशीलता अपनाउनुपर्छ । सरकारले मानव बेचबिखन विरुद्धको पूरा साथ दिने प्रतिबद्धता गर्दछ,’ मन्त्री लेखकले भने ।

मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भएकाले नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । ‘प्रहरी घरघरमा पुग्न सक्दैन । मानव बेचबिखन विरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ,’ लेखकले भने ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले मानव बेचबिखनको अपराध नेपालका लागि चुनौतीको विषय बनेको बताए । भिजिट भिसाको नाममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले कारबाही अगाडि बढाएको पनि उनले बताएका छन् ।

७५३ पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको उनको भनाइ छ । मानव तस्करी गर्नका लागि दलाल गाउँ-गाउँमा पुगेको जानकारी आउने गरेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्