Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपन्न परिवारलाई नगरपालिकाको घर उपहार

बुधबार, साउन १६, २०८१

वालिङ– चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरूप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मंगलबार हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए ।


‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाइदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’

गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर र दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताए ।


नगरपालिकाका वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्