Nic Ad Nic Ad
Nic Ad Nic Ad

हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय

बुधबार, साउन १६, २०८१

काठमाडौं- ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् ।

बालकुमारीतर्फबाट क्रमश: होचिएको भूगोलमा रहेको एमाले मुख्यालय र च्यासल मैदानमा मंगलबार रातभर पानी परेपछि आएको बाढी पस्यो ।

 

करिडोर सडकसमेत नाघेर उक्लिएको मनोहराको बाढी एमाले मुख्यालयको ग्राउन्ड हुँदै मुख्य भवनको बैठकस्थलसम्म पस्यो ।बाढीका कारण एमाले कार्यालयमा क्षतिसमते भएको छ । एमाले मुख्यालयसँगै रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको मूख्य गेट पनि बाढीले भत्काएको थियो ।

मंगलबार सबैभन्दा ठूलो बाढी हनुमन्ते खोलामा आएको थियो । लोकन्थली र टीकाथलीस्थित दोभानमा आएर हनुमन्ते खोलाको बाढी मनोहरामा मिसिएपछि विशाल रुप लिएको थियो । त्यसपछि च्यासल दोभानमा मनोहराको बाढी आइपुग्दा सडकसम्मै निस्कियो ।

त्यसले गर्दा च्यासलस्थित खेल मैदान, एमाले कार्यालय, शंखमूल पार्क क्षेत्र पूरै डुबानमा परे । यो क्षेत्रमा नदीसँग जमीनको उचाइ तुलनात्मक रुपमा कम हुँदा पानी सिधै बस्तीमा पुग्ने गरेको छ । एमाले मुख्यालयमा दुई वर्षयता निरन्तर बाढी पस्ने गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्