Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीआईबी प्रमुख ज्ञवालीविरुद्ध प्रधान कार्यालयले बनायो छानबिन समिति, ठगहरूसँग पनि थियो 'उठबस'

बुधबार, साउन १६, २०८१

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध परेका आधा दर्जन उजुरी छानबिनका लागि प्रधान कार्यालय नक्सालले ५ सदस्यी समिति गठन गरेको छ। 

प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको विवरण सार्वजनिक भएका छन्। छानबिन निर्देशनालयमा परेको उजुरीका आधारमा एआईजी ज्ञवालीविरुद्ध अनुसन्धान अर्का एआईजी टेकप्रसाद राईको टोलीले गर्नेछ। 

निर्देशनालय प्रमुखमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुन्छन्। तर, एआईजीविरुद्ध उजुरी रहेका कारण उनकै ब्याचका एआईजी राईको नेतृत्वमा समिति गठन गरिएको हो। 

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, मिटरब्याजी तथा हुन्डी कारोबारीसँगको उठबस, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरूमा छानबिन हुने उच्च स्रोतले जनाएको छ। 

चलाउनेले यसअघि आईजी बन्न भनी ज्ञवालीले डेढ करोड मागेको भन्ने बताएका थिए। तर, त्यसको आधिकारिक पुष्टि नगरी चलाउने विदेशमा बसेका छन्।

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्। घर जाने बेला उनले प्रहरी संगठनमा गरेका हर्कतको विषयमा छानबिन हुन लागेको हो। निवर्तमान गृहमन्त्री रवि लामिछानेको निगाहमा उनी सीआईबी प्रमुख बनेका थिए। 

aig-1722410582.jpg
 

ज्ञवाली सीआईबी प्रमुख बनेपछि पनि अनेक प्रकारका नाजायज हिमचिम राखेको खुलेको छ। 

ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान भएन । बरु, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए ।

बालमन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बालमन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन गरिएको उच्च स्रोतले जनाएको छ।

यति मात्र होइन, नेपालमा सलमान खान ल्याउने भनी ठगी गरेको आरोप लागेका राजु थापा क्षत्रीसँग पनि ज्ञवालीको उठबस रहेको पुष्टि भइसकेको छ। 

थापाले नेपालमा सलमान खान ल्याउने भनी दुनियाँबाट लाखौं रकम समेत उठाएका थिए। 

यसैबीच ज्ञवालीविरुद्ध नागरिकता तथा शैक्षिक प्रमाणत्रका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको तथ्य सतहमा आएको थियो। अख्तियारले उक्त प्रकरणमा भने छानबिन गरिरहेको जनाए पनि प्रगतिका विषयमा बताएको छैन।
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्