Nic Ad Nic Ad
Nic Ad Nic Ad

हरिबोल गजुरेलद्वारा माओवादी केन्द्रको उपमहासचिवबाट राजीनामा

बुधबार, साउन १६, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो।  गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्।

यद्दपि उनको राजीनामा स्वीकृत भए/नभएको खुलाइएको छैन।  राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्। 

नेपालखबरले प्राप्त गरेको गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्।

‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ,’ गजुरेलले खुलाएका छन्, ‘कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न।’

‘पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु,’ उनले लेखेका छन्।

माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ। 

गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।  

‘यतिखेर हामीलाई चुनबाङभन्दा अझ स्तरीय बैठक चाहिएको हो। मलमपट्टी होइन, शल्यक्रिया चाहिएको हो,’ राजीनामामा उल्लेख छ, ‘अहिले चलिरहेको छलफल विगतमा पटकपटक गरिएको हो। यस्तै, असफल परम्परा चलाइराख्ने हो भने रात रह्यो अग्राख भनेजस्तै हुनेछ।’

‘यतिखेर विरोधीहरूले नकारात्मक घटना घटाएर हामीलाई अवसर दिएका छन्। फलाम तातेका बेला चाहेअनुरूपको आकार दिन सकिन्छ। सेलाएपछि त फुट्ने हो।’ 

राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन्।

उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका छन्।

‘राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियामा अपनाइएको तरिकाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको छ,’ गजुरेलले उल्लेख गरेका छन्। 

मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको गजुरेलको ठम्याइ छ।

यस्तै, पार्टीको बैठकमा नेताहरूले औपचारिक रूपमा पेस गरेको राजनीतिक विषयवस्तुप्रति कसैको चासो र चिन्ता नभएको र त्यसमा छलफलसमेत नभएकोमा उनको असन्तुष्टि छ।

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको उनले आरोप लगाएका छन्।

स्थायी समितिमा वैचारिक, राजनीतिक क्षमता र गौरवपूर्ण  इतिहास र अनुभव भएका नेता छुटाएको भन्दै गजुरेलले आफ्ना नेता मात्र समेट्ने चिन्ता नेताहरूमा देखिएकोमा असहमति जनाएका छन्। 

गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए।

माओवादी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने गजुरेलले राजीनामा दिएको नभई आफ्ना सुझावहरू लिखित रूपमा राखेको दाबी गरे।

‘पार्टी बनाउने कुरामा एकपटक सबैले आत्मसमीक्षासहित सामूहिक राजीनामा गर्न सक्यौँ भने समीक्षाको विषय हुन सक्छ भन्ने मात्र हो,’ उनले भने, ‘राजीनामाको विषय होइन। व्यक्तिगत कुरा हुन्।’

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्