Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृह मन्त्री लेखकको निर्देशन

बुधबार, साउन १६, २०८१

काठमाडौँ-गृह मन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृह मन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताएका हुन् ।

‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको सङ्ख्या एक दम कम भयो । अरू सबै कुरा ठिक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’गृह मन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताए । ज्येष्ठ नागरिकलाई घर-घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृह मन्त्री लेखकले निर्देशन दिए ।

‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ । तर, ज्येष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ,’ उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरूले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृह मन्त्री लेखकको भनाइ थियो । 

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृह मन्त्री लेखकले निर्देशन दिए ।  

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्