Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सिधा कुरा’को मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदै

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको समाचारलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलास गठन भएको छ । सिधा कुरा नामक अनलाइन पोर्टलले न्यायाधीश र केही मिडिया सञ्चालक समेतको मिलेमतोमा रंगेहात घुस सम्बन्धी रिट निवेदनमा चलखेल गरी सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मुद्दा प्रभावित पारेको भनी समाचार सम्प्रेषण गरेको थियो ।

तीन भागमा समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत प्रशासनले नै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भनी प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनको अध्ययन र केही कानून व्यवसायीहरूको प्रारम्भिक बहसपछि सर्वोच्च अदालतले यससम्बन्धी थप सामग्री सम्प्रेषण नगर्न आदेश दिएको थियो ।

८ वैशाख २०७८ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले रंगेहात घुससम्बन्धी एक रिट निवेदनमाथि फैसला गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले रकम उपलब्ध गराएर घुस माग्नेहरूलाई पक्राउ गर्नु र मुद्दा चलाउनु गलत हुने नजिर प्रतिपादन गरेको थियो ।

त्यो मुद्दाको सुनुवाइमा संलग्न नै नभएका न्यायाधीशलाई समाचारमा मुछिएको भन्दै सर्वोच्च अदालतले समाचारमाथि प्रारम्भिक दृष्टिकोणमै प्रश्न उठाएको थियो । साथै मुद्दाको बहसमा संलग्न नभएका वरिष्ठ अधिवक्ता एवं अधिवक्ताको समेत नाम मुछेको, उनीहरूलाई मुद्दा प्रभावित पार्ने छलफलमा संलग्न भएको भन्दै सर्वोच्च अदालतले समाचारको विवरणमा प्रश्न उठाउँदै समाचार र भिडियो सामग्री हटाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सिधा कुराले समाचार र भिडियो सामग्री हटाएको थियो ।

न्याय सम्पादनमा अवरोध गर्ने नियोजित तरिकाले समाचार सामग्री उत्पादन र प्रसारण गरेको भन्दै सर्वोच्चले सिधा कुराका सञ्चालक युवराज कँडेल सहित पाँच जना विरुद्ध फौजदारी अवहेलनामा मुद्दा चलाउन आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्