एआईजीहरूको सरुवा हुने सम्भावनाः ज्ञवालीलाई फाजिलमा राखी ‘आन्तरिक प्रशासनिक कोर्स’अनुसार छानबिन
काठमाडौं– नेपाल प्रहरी अन्तरर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथिको प्रधान कार्यालयले सुरु गरेको छानबिन आन्तरिक प्रशासनिक कोर्सका रुपमा अघि बढ्ने बताइएको छ।
अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। शैक्षिक प्रमाणपत्र, सुन तस्करीमा संलग्न रहेका जीबन चलाउनेसँगको साँठगाँठ, तत्कालिन सेञ्चुरी बैंक घोटालाका अभियुक्तलगायतसँगको सम्बन्धसहित आधा दर्जन उजुरीबारे समितिले छानबिन गर्नेछ।
एआईजी राईको छानबिन समितिलाई ज्ञवालीलाई बयान लिनेसम्मको प्राधिकार दिइएको छ। सम्भवतः उनलाई फाजिलमा राखेर नै अनुसन्धान गर्न सरकारले प्रधान कार्यालयलाई अनुमति दिने सम्भावना रहेको छ।
त्यसो त यो विषय प्रतिनिधि सभाको सुशासन समितिमा पनि उठेको थियो। गृहमन्त्री रमेश लेखकसहित प्रहरी महानिरिक्षक बसन्त कुँवरलाई सांसद रामहरि खतिवडाले यो प्रश्न राखेका थिए। यसमा कुँवरले ‘यो आन्तरिक प्रशासनिक कोर्सअनुसार नै अघि बढ्नेछ’ भन्ने मात्र जवाफ दिएका थिए।
क्यानडानेपालको प्रश्नमा पनि महानिरिक्षक कुँवरले यहि उत्तर दिएका थिए।
यसैबीच, विहीबार बस्ने मन्त्रिपरिषद बैठकले एआईजीहरूको सरुवा गर्ने सम्भावना रहेको छ। मंगलबार नै सरुवाको तयारी भइसकेको बताइए पनि मन्त्रिपरिषदले निर्णय गरेको विषय सार्वजनिक भएको थिएन।