नेपालमै पहिलो पटक सञ्चालनमा आयो कार्डियो पल्मोनरी सेन्टर
काठमाडौँ- नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलो पटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ ।
सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा. डा. सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुरप्रसाद बस्तीले संयुक्त रूपमा सेन्टरको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै डा. लम्सालले नेपालमा पहिलो पटक सञ्चालनमा आएको सो सेवाले मुटु तथा फोक्सोका बिरामीको उपचार प्रक्रिया सहज हुने बताए ।
प्रा. डा. ढकालले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा आएसँगै निद्रामा घुर्नेदेखि अन्य मुटु तथा फोक्सोको समस्याको पहिचान र उपचार एउटै छानामुनि एकीकृत रूपमा पाइने बताए ।
यो सेवा साताको ६ दिन नै उपलब्ध गराउने र आवश्यकता अनुसार विस्तार गर्दै लैजाने योजना रहेका ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. बस्तीले जानकारी दिए ।