Nic Ad Nic Ad
Nic Ad Nic Ad

कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान : राष्ट्रपति

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको धारणा राखे ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुन सक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्त्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्‍यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।’ राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरणको त्यही सूत्र समातेको बताए । राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको पनि बताए ।

राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पंचायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा काँग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनः स्थापना सम्भव भएको उल्लेख गरे ।

उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्